कोशी ब्यारेजबाट सप्तकोशी नदीमा हाम फालेका दुई जनाको भारतीय नागरिकको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बुधबार साँझ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज पुलको ४३ नम्बर ढोकाको दक्षिणतर्फबाट दुई जना नदीमा हाम फालेका थिए ।
नदीमा हाम फालेको देखेपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उनीहरूको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका दुवै जना भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको नदीथाना क्षेत्रको बरहडा ग्राम पञ्चायत, लालमनिया टोलका बासिन्दा हुन् ।
उद्धारपछि दुवै जनालाई आवश्यक प्रक्रिया तथा व्यवस्थापनका लागि सशस्त्र सीमा बलको ४५ औँ बटालियन (एसएसबी)लाई बुझाइएको उहाँले जानकारी दिनुभयो ।