संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका विभिन्न विषयगत समितिहरू गठन भएसँगै पर्सा जिल्लाबाट निर्वाचित तीन जना सांसद महत्वपूर्ण समितिहरूमा मनोनित भएका छन् ।
यससँगै जिल्लाका उद्योग, व्यापार, रोजगारी र कानुनी सुधारका मुद्दाहरू संसदमा सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धि प्रसाद पन्त र क्षेत्र नम्बर ४ बाट निर्वाचित टेक बहादुर शाक्य उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यमा मनोनित भएका हुन् । उक्त समिति उद्योग, व्यापार, श्रमिक अधिकार तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा काम गर्ने महत्वपूर्ण संसदीय संयन्त्र हो ।
त्यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सुशील कुमार कानु कानून, न्याय तथा मानवअधिकार समितिको सदस्यमा मनोनित भएका छन् । यो समिति कानुनी सुधार, न्याय प्रणालीको सुदृढीकरण तथा मानवअधिकार संरक्षणसँग सम्बन्धित विषयमा केन्द्रीत रहने गर्दछ ।
यस्तै पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामाकान्त प्रसाद चौरसिया पूर्वाधार विकास समितिमा मनोनित भएका छन्।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको आठ दिनमै सबै संसदीय समितिहरू गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति तथा दुई वटा संयुक्त समिति रहेका छन्। यसैगरी, राष्ट्रिय सभाअन्तर्गत चार वटा समिति यसअघि नै गठन भइसकेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समितिहरू गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरी सभाले स्वीकृत गरेको थियो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको नामावलीअनुसार पन्त र शाक्य एउटै समितिमा समावेश भएका हुन् ।
समितिमा पर्साका सांसदहरूको सहभागितासँगै औद्योगिक विकास, रोजगारी सिर्जना, उपभोक्ता अधिकार तथा कानुनी सुधारका विषयमा जिल्लाका आवाज सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ ।