प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।
हृदयाघात र श्वासप्रश्वाससम्बन्धी जटिलताका कारण शनिबार अस्पताल भर्ना गरिएकी भोसलेले ९२ वर्षको उमेरमा आइतबार दिउँसो अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी गायिका धेरै महिनादेखि स्वास्थ्य समस्याहरूसँग लड्दै थिइन् र उनको अवस्था बिग्रियो । उनलाई शनिबार राति ब्रिच क्यान्डी अस्पतालको सघन हेरचाह इकाईमा भर्ना गरिएको थियो । उनका छोरा आनन्दले आइतबार दिउँसो खबर पुष्टि गरेको सञ्चारमाध्यमले जनाएका छन् । उनको अन्तिम संस्कार सोमबार गर्ने बताइएको छ । आशाले बलिउडमा प्रख्यात पार्वगायिकाको छवि बनाएकी छिन् ।
१९३३ मा मंगेशकर परिवारमा जन्मिएकी उनले सानै उमेरमा संगीतमा आफ्नो यात्रा शुरु गरेकी थिइन् । पारिवारिक वातावरण नै संगीतमय भएकाले उनी सानैमा यसतर्फ आकर्षित भएको बताइन्छ ।
उनले ९ वर्षकै उमेरमा व्यावसायिक रूपमा गाउन थालेकी थिइन् । १९४३ सम्ममा उनले आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् ।
आठ दशक लामो आफ्नो गायन यात्रामा उनले हजारौँ गीत गाइन् । भारतीयका साथै अन्य क्षेत्रीय भाषामा समेत उनले आवाज दिइन् ।
कैयौँ नेपाली चलचित्रमा समेत उनका आवाज सुन्न सकिन्छ। ‘वसन्त नै लुक्न खोज्छ यहाँ’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘गैह्रीखेतको शिरै हान्यो’, ‘एउटा मान्छे मन पर्छ बोल्न सक्दिनँ’ लगायत गीत लोकप्रिय छन् ।