नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्ण कुमार कुँवरले सांसद पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सभामुखलाई सम्बोधन गरी पत्र बुझाउँदै सोही दिनदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
कुँवरले राजीनामाको बोधार्थ पार्टीका केन्द्रीय सभापति तथा प्रदेश संसदीय दलका नेतासमेतलाई दिएका छन् ।
कांग्रेस स्रोतका अनुसार बुधबार गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा कुँवर मन्त्री बन्ने लबिइङमा थिए । तर मुख्यमन्त्री तथा दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन अस्वीकार गरेपछि उनी असन्तुष्ट बनेर राजीनामा दिएका हुन् ।
कांग्रेसका एक सांसदका अनुसार मन्त्री नबनाइएपछि आक्रोशमा राजीनामा दिएको देखिएको छ । तर उनले राजीनामा फिर्ता लिन सक्ने सम्भावना रहेको पनि बताइएको छ ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा कुँवर बागलुङ – २ ( ख ) बाट निर्वाचित भएका थिए। राजीनामा पत्रमा उनले मतदाताप्रति धन्यवाद व्यक्त गर्दै कार्यकाल पूरा गर्न नसकेकोमा क्षमा मागेका छन् ।
यसैबीच बुधबार गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार मुख्यमन्त्रीबाहेक अन्य मन्त्रीहरू हेरफेर गरिएको छ ।
नयाँ नियुक्त मन्त्रीहरूमा कांग्रेसबाट जीत शेरचन ( आर्थिक मामिला ), नन्दप्रसाद न्यौपाने ( ऊर्जा तथा खानेपानी ), रेखा गुरुङ (सामाजिक विकास) र नम्दु गुरुङ (वन तथा वातावरण) रहेका छन् ।
एमालेबाट गोविन्दबहादुर नेपाली ( भौतिक पूर्वाधार ), यशोदा रिमाल ( उद्योग तथा पर्यटन ), लक्ष्मण पाण्डे ( कृषि, भूमि व्यवस्था तथा सहकारी ) र भीम कार्की (स्वास्थ्य) मन्त्री बनेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराइसकेका छन् ।