आफ्नै श्रीमान्को अमानवीय तथा क्रूर आक्रमणबाट दाहिने खुट्टा गुमाउन पुगेकी हरिकला सहनीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको छ ।
वीरगंजस्थित एल.एस. न्युरो हस्पिटलमा उपचाररत सहनीको नाजुक आर्थिक अवस्था तथा न्याय प्राप्तिको संघर्षलाई मध्यनजर गर्दै इन्सेकले १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो ।
गत चैत १ गते श्रीमान्ले धारिलो हतियार प्रहार गरी सहनीको खुट्टा काटिदिएका थिए। घटनापछि उनलाई तत्काल उपचारका लागि बाराको परवानीपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो, जहाँ हालसम्म उनको उपचार भइरहेको छ ।
पीडितलाई भेट्न इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, सञ्चारकर्मी सूर्य नारायण विक तथा अस्पतालका प्रशासन प्रमुख विनोद पटेलसहितको टोली अस्पताल पुगेको थियो । सो अवसरमा प्रतिनिधि भण्डारीले पीडितलाई सहयोग रकम हस्तान्तरण गर्दै इन्सेक सधैँ मानव अधिकार र न्यायको पक्षमा उभिने बताउनुभयो ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आक्रमण अत्यन्तै गम्भीर प्रकृतिको भएकाले काटिएको खुट्टा पुनः जोड्न सम्भव भएन । शल्यक्रियामार्फत खुट्टाको काम नलाग्ने भाग अलग गरिएकाले अब सहनीले बाँकी जीवन एक खुट्टाको सहारामा बिताउनुपर्ने अवस्था आएको छ ।
हरिकला सहनीका २ र ६ वर्षका दुई नाबालक छोराहरू रहेका छन्। घटनापछि घरपरिवारका सदस्यहरूले बेवास्ता गरेपछि हाल अस्पतालमा उनका वृद्ध बुबाआमाले रेखदेख गरिरहेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ भने न्यायका लागि लडाइँ झन् चुनौतीपूर्ण बन्दै गएको छ ।
यसैबीच, घटनामा संलग्न श्रीमान्लाई प्रहरीले चैत १४ गते नियन्त्रणमा लिइसकेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
अस्पतालको शैयामा पीडामा रहेकी सहनीका लागि १० हजार रुपैयाँ ठूलो रकम नभए पनि, यसले उनीजस्ता असहाय महिलाहरूका लागि राज्य र नागरिक समाज अझै संवेदनशील रहेको सकारात्मक सन्देश दिएको छ ।