रेडिमेड कपडाको अवैध आयात गरी राजस्व छलिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय पथलैया ले तीन जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान पूरा भएपछि उक्त मुद्दा बारा जिल्ला अदालतमा दायर गरिएको हो ।
मुद्दाका मुख्य अभियुक्त वीरगञ्ज महानगरपालिका–२४ निवासी ५६ वर्षीय दिलिप साह रहेका छन् । उनीमाथि नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतिरी भन्सार छलीमार्फत कपडा भित्र्याएको आरोप लगाइएको छ ।
कार्यालयका अनुसार दिलिप साहबाट २ करोड ३६ लाख ८५ हजार ८५१ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ। सोही रकम जफतसहित शतप्रतिशत जरिवाना र कैद सजायको माग गरिएको छ ।
यस प्रकरणमा अन्य दुई जनालाई पनि प्रतिवादी बनाइएको छ। फतुवा विजयपुर नगरपालिका–११ का २८ वर्षीय राजु प्रसाद खान र करैयामाई गाउँपालिका–५ का २५ वर्षीय सन्तोष चौधरीले अवैध सामान ओसारपसारमा सहयोग गरेको आरोप छ ।
अनुसन्धानका क्रममा उनीहरूले भि.सि.टि.एस. प्रणालीको दुरुपयोग गरी मालवाहक सवारीमार्फत अवैध सामान ओसारपसारमा संलग्न रहेको खुलेको जनाइएको छ । दुवैलाई मद्दत मतियारका रूपमा मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत दायर गरिएको यो मुद्दा चैत ३० गते अदालतमा पेश गरिएको हो । साथै, अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति असुल गर्नसमेत माग गरिएको छ ।