बाराको जीतपुरस्थित गौशालाको नाममा रहेको सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत ६ लेन सडक आसपास निर्माण गरिएका अवैध संरचनामाथि कडाइ गरेपछि व्यवसायीहरू आफैं सक्रिय भई पसल तथा संरचना हटाएका हुन् ।
उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै वैशाख २ गतेसम्म अतिक्रमित संरचना हटाउन समयसीमा दिएको थियो । समयसीमाको अन्तिम दिन केही व्यवसायीहरूले स्वेच्छाले संरचना हटाए पनि अटेरी गर्नेहरूका कारण नगरपालिकाको टोली डोजरसहित स्थलमा पुगेको थियो ।
डोजर प्रयोगको चेतावनीपछि केहीबेर सामान्य प्रतिकार देखिए पनि नगर प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरीको उपस्थितिमा अवस्था नियन्त्रणमा आएको थियो । त्यसपछि अधिकांश व्यवसायीहरूले आफ्ना संरचना आफैं हटाउन थालेका थिए ।
अतिक्रमण हटाएसँगै मासु पसल, खाजाघर, कबाड संकलन केन्द्र, भेटेनरी पसल तथा गुट्खा–चुरोट र पेय पदार्थ बिक्री गर्ने पसलहरू पूर्ण रूपमा हटाइएको उपमहानगरपालिकाले जनाएको छ ।
अतिक्रमणबाट प्रभावित व्यवसायीहरूले उचित व्यवस्थापन, वैकल्पिक स्थान उपलब्ध गराउन तथा भविष्यमा सटर निर्माणमा प्राथमिकता दिन माग गरेका छन् । साथै, सोही स्थानमा पुनः व्यवसाय सञ्चालनको अवसर दिनुपर्ने उनीहरूको माग रहेको छ ।
उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र शहरी व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्ता कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
पछिल्लो समय तीव्र शहरीकरणसँगै सार्वजनिक जग्गा अतिक्रमणका घटना बढ्दै गइरहेकाले नियन्त्रणका लागि स्थानीय तह सक्रिय बनेको देखिएको छ ।