सडक विभागले वीरगंजमा सडक विस्तार कार्य सुरु गरेको छ । आइतबार बिहानैदेखि विभागले वीरगंज महानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा मुख्य सडक क्षेत्रका संरचनामा डोजर चलाउन थालेको हो ।
बिहानैदेखि एकैसाथ १३ वटा डोजर परिचालन गरी शहरको मुख्य मार्ग फराकिलो बनाउने काम भइरहेको छ। वीरगंजको मुख्य सडकलाई दायाँ–बायाँ दुवैतर्फ २५–२५ मिटर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
सडक विस्तार अन्तर्गत पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार क्षेत्रसम्मका सडकछेउका संरचना भत्काउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ विज्ञप्ति जारी गर्दै आइतबार बिहानदेखि सडक विस्तार सुरु हुने जानकारी दिएको थियो। साथै, मापदण्डभित्र पर्ने पसल तथा घर संरचना खाली गर्न स्थानीयलाई आग्रह गरिएको थियो।
प्रशासनको आग्रहपछि केही स्थानीयले सरसामान सारेर संरचना खाली गरेका छन्। सडक विस्तार कार्यमा अवरोध नहोस् भनेर वीरगन्जमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।