बीरगंजमा तीव्र गतिमा अघि बढिरहेको मुख्य सडक विस्तार कार्यका कारण आगामी तीन दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ ।
सडक फराकिलो बनाउने कामसँगै विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएपछि विद्युत् सेवा अनियमित हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको बीरगंज वितरण केन्द्रका अनुसार वैशाख ६ गतेदेखि ८ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध तथा अनियमित रहनेछ । त्रिभुवन राजपथ अन्तर्गत मितेरी पुलदेखि गण्डक नहर चोकसम्म भइरहेको २५–२५ मिटर सडक विस्तार कार्यका कारण पोल तथा तार स्थानान्तरण गर्नुपर्ने भएकाले बिहानदेखि नै मर्मत तथा स्थानान्तरण कार्य सञ्चालन गरिनेछ ।
यस अवधिमा बीरगंज सबस्टेसनअन्तर्गत पर्ने वडा नं. १, २, ५ र ६ सहित राधेमाई, जगन्नाथपुर तथा प्रसौनी क्षेत्र प्रभावित हुनेछन् । त्यस्तै, छपकैया सबस्टेसनअन्तर्गत हस्पिटल, बिर्तामाई, छपकैया र बलिरामपुर फिडरका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा आंशिक वा पूर्ण रूपमा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोका अनुसार सडक विस्तार कार्य सडक विभागको समन्वयमा डोजर प्रयोग गरी तीव्र रूपमा भइरहेको छ, जसका कारण विद्युतीय संरचना तत्काल स्थानान्तरण गर्नु आवश्यक भएको हो । उहाँले आकस्मिक प्राविधिक समस्या आएमा थप अवरोध हुन सक्ने र आवश्यक मर्मत कार्य तोकिएको समयभन्दा अगाडि सकिएमा विद्युत् सेवा चाँडै सुचारु गरिने जानकारी दिनुभयो ।
सडक विस्तारसँगै भइरहेको संरचना व्यवस्थापन कार्यलाई व्यवस्थित बनाउन विद्युत् प्राधिकरण र सडक विभागबीच निरन्तर समन्वय भइरहेको छ । साथै, प्रभावित क्षेत्रका उपभोक्तालाई वैकल्पिक व्यवस्था अपनाउन तथा आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।
स्थानीयवासीहरूले केही समय असुविधा भए पनि दीर्घकालीन रूपमा सडक विस्तारले यातायात सहज हुने, ट्राफिक जाम कम हुने तथा शहरको पूर्वाधार विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन् ।
