वीरगंज महानगरपालिकाले लामो समयदेखि अधुरो रहेको मुर्ली चोकदेखि नेपाल आयल निगम क्षेत्रीय कार्यालयसम्मको सडक विस्तार कार्य पुनः सुरु गर्ने निर्णय गर्दै सडक क्षेत्रभित्र रहेका संरचनाहरू २४ घण्टाभित्र खाली गर्न सूचना जारी गरेको छ ।
महानगरपालिकाले आइतबार सूचना प्रकाशित गर्दै वडा नं. १२ अन्तर्गत पर्ने उक्त सडकलाई १० मिटर चौडा बनाउने योजना अनुसार सडकको मध्यभागबाट दायाँ–बायाँ ५/५ मिटर क्षेत्रभित्र पर्ने सबै घर, पसल तथा अन्य संरचना सोमबार दिउँसो ३ बजेसम्म खाली गर्न सम्बन्धित घरधनीहरूलाई निर्देशन दिएको हो ।
महानगरका अनुसार नेपाल आयल निगमको क्षेत्रीय कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको खण्डमा सडक विस्तार कार्य यसअघि नै सम्पन्न भइसकेको छ। तर, सबाह अन्सारीको घरदेखि मुर्ली चोकसम्मको बाँकी खण्ड विभिन्न कारणले रोकिँदै आएको थियो ।
सडक विस्तारका लागि २०८१ साल माघ १३ गते नै सार्वजनिक सूचना जारी गरिएको भए पनि स्थानीय विरोध, समन्वय अभाव र प्राविधिक कारणले काम अघि बढ्न सकेको थिएन । अहिले भने महानगरले पुनः सक्रियता देखाउँदै अधुरो काम सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।
सूचनामा “सडक क्षेत्रभित्र निर्माण भएका सम्पूर्ण संरचना तत्काल हटाई सडक विस्तार कार्यमा सहयोग गर्न” आग्रह गरिएको छ । महानगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाएमा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।
यसैबीच, वीरगन्जको मुख्य सडकलाई २५/२५ मिटर फराकिलो बनाउने योजनाअन्तर्गत गण्डकदेखि भन्सार चोकसम्मको क्षेत्रमा सडक विभागले १३ वटा डोजर प्रयोग गरी संरचना भत्काउने कार्य तीव्र बनाएको छ । महानगरले दुवै प्रमुख सडक विस्तार योजनालाई समानान्तर रूपमा अघि बढाएर शहरको यातायात व्यवस्थापन सुधार्ने लक्ष्य लिएको छ ।
साथै, शहरको समग्र शहरी पूर्वाधार सुधार, व्यापारिक गतिविधि विस्तार तथा आपतकालीन सेवाको पहुँच बढाउन पनि सडक विस्तार महत्वपूर्ण हुने जनाइएको छ ।