वीरगंजमा जारी मुख्य सडक विस्तार कार्यका कारण विद्युत, इन्टरनेट तथा खानेपानी जस्ता अत्यावश्यक सेवाहरू प्रभावित हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।
डिभिजन सडक कार्यालय हेटौंडाले आइतबार बिहान ५ बजेदेखि सडक विस्तारको काम तीव्र रूपमा अघि बढाएसँगै दैनिक १२ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुन थालेको हो । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुँदा इन्टरनेटमा आधारित सेवा, बैंकिङ कारोबार, सञ्चार सेवा तथा बोरिङमार्फत वितरण हुने खानेपानी प्रणाली समेत प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले सार्वजनिक सूचना जारी गर्दै सडक विस्तार तथा मर्मत कार्यका कारण विद्युत् लाइन व्यवस्थापन गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अनियमित हुने जनाएको छ । प्राधिकरणका अनुसार त्रिभुवन राजमार्ग अन्तर्गत नेपाल–भारत सीमादेखि पुल क्षेत्र हुँदै गण्डक नहरसम्मको सडकलाई राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्न सडक सीमाभित्र रहेका संरचना हटाउने कार्य भइरहेकाले विद्युतीय संरचना सार्नुपर्ने बाध्यता आएको हो ।
विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोका अनुसार महानगरका वडा नं. १, २, ५, ६ सहित रानीघाट, जगन्नाथपुर, श्रीसिया, छपकैया, घण्टाघर, बिर्तामाई र बलिरामपुर फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा अनियमित हुन सक्नेछ । उनका अनुसार मंगलबारसम्म आंशिक रूपमा विद्युत् अवरुद्ध हुने सम्भावना रहेको छ ।
विद्युत् अवरोधसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका उपकरण प्रभावित हुँदा अनलाइन कक्षा, कार्यालयीय कामकाज र डिजिटल कारोबारमा समेत असर परेको छ । त्यस्तै, बोरिङ तथा मोटरमार्फत सञ्चालन हुने खानेपानी प्रणाली ठप्प हुँदा धेरै स्थानमा पानी अभाव देखिएको छ ।
स्थानीय व्यवसायीहरूका अनुसार लगातार विद्युत् अवरुद्ध हुँदा व्यापार व्यवसायमा ठूलो घाटा भइरहेको छ भने सर्वसाधारणले दैनिक जीवन सञ्चालन गर्न समेत समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
सडक विस्तार कार्यलाई दीर्घकालीन रूपमा शहरको पूर्वाधार सुधारसँग जोडेर हेरिए पनि तत्कालका लागि यसले जनजीवनमा असहजता थपेको छ । सरोकारवाला निकायहरूले भने काम छिटो सम्पन्न गरी सेवा नियमित बनाउन समन्वय भइरहेको बताएका छन्।