पर्साको वीरगंज महानगरपालिका–८ स्थित लिंक रोडमा रहेको समर होटलबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले ३० हजार ट्याब्लेटसहित भारत विहार राज्य, मोतिहारी थाना सिकटा भेलाही बस्ने २० वर्षीय सागर कुमार पटेललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरीले गोप्य सूचनाका आधारमा होटलको कोठा नम्बर १०५ मा छापा मारेको थियो । तलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल ट्याब्लेट फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको ट्रामाडोल एक प्रकारको शक्तिशाली पेनकिलर औषधि हो, जसको दुरुपयोग लागूऔषधको रूपमा हुँदै आएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा यसको अवैध कारोबार बढ्दै गएको पाइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका पटेल लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ । खुला सीमाका कारण भारतबाट नेपाल हुँदै अन्यत्र लैजान वा नेपालमै बिक्री वितरण गर्ने उद्देश्यले उक्त औषधि ल्याइएको हुन सक्ने प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । साथै, प्रहरीले लागूऔषध कारोबार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको जनाएको छ ।