पर्साको वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्ताबाट खटिएको प्रहरी टोलीले बिहान सीमा क्षेत्रको नियमित निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा भारत, बिहार राज्य बेतिया–३३ बस्ने ३५ वर्षीय सफि आलम, ३० वर्षीय मुकिम मिया, ३३ वर्षीय बिनय ठाकुर र २८ वर्षीय एकवाल मिया रहेका छन् ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट भारततर्फ पर्ने रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंका लागेपछि जाँच गरेको थियो । सो क्रममा उनीहरूको साथबाट करिब ६ किलो १२ ग्राम गाँजा बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरू लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ । सीमावर्ती क्षेत्र हुँदै लागूऔषधको अवैध कारोबार बढ्न थालेपछि सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिने तयारी गरिएको छ ।
प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि नियमित चेकजाँच र गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ ।