वीरगंज महानगरपालिका–१२ स्थित मुर्ली चोकदेखि उत्तरतर्फ नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने सडक विस्तारको काम अदालतको आदेशपछि स्थगित भएको छ ।
महानगरपालिकाले सोमबार अपराह्नदेखि उक्त भित्री सडक दायाँ बायाँ ५÷५ मिटर गरि जम्मा १० मिटर चौडा गर्ने तयारी गरेको थियो । तर सो क्षेत्रमा पर्ने तीन जना घरधनीले उच्च अदालत जनकपुरको अस्थायी इजलासमा सडक विस्तार कार्य रोक्न माग गर्दै रिट दायर गरेपछि अदालतले तत्काल काम नगर्न अन्तरिम आदेश (स्टे अर्डर) जारी गरेको हो ।
अदालतको आदेशपछि हालका लागि सडक विस्तार कार्य रोकिएको मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए । “अदालतबाट स्टे अर्डर आएकाले मुर्ली चोकदेखि आयल निगमसम्मको सडक चौडा गर्ने काम तत्कालका लागि स्थगित गरिएको छ,” उनले भने ।
यसअघि आइतबार महानगरपालिकाले सूचना जारी गर्दै मुर्ली चोकदेखि आयल निगमसम्मको सडक १० मिटर चौडा बनाउने योजना अन्तर्गत सडकको केन्द्रबाट दायाँ–बायाँ ५/५ मिटर क्षेत्रमा पर्ने सम्पूर्ण संरचना २४ घण्टाभित्र हटाउन घरधनीलाई अल्टिमेटम दिएको थियो ।
महानगरका अनुसार आयल निगम कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको सडक विस्तारको काम यसअघि नै सम्पन्न भइसकेको छ । बाँकी रहेको सबाह अन्सारीको घरदेखि मुर्ली चोकसम्मको खण्ड विस्तार गर्न २०८१ माघ १३ गते नै सूचना प्रकाशित गरिएको भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन ।
सडक विस्तारको विषयमा स्थानीय तह र घरधनीबीच विवाद चर्किएपछि मुद्दा अदालत पुगेको हो । प्रभावित घरधनीहरूले पर्याप्त मुआब्जा र वैकल्पिक व्यवस्था बिना संरचना हटाउन नपाइने दाबी गरेका छन् ।
यता, महानगरपालिकाले भने सहरको दीर्घकालीन यातायात व्यवस्थापन, जाम नियन्त्रण र शहरी सौन्दर्य सुधारका लागि सडक विस्तार अनिवार्य भएको बताउँदै आएको छ । मुर्ली चोक–आयल निगम खण्ड वीरगंजको व्यस्त मार्गमध्ये एक भएकाले विस्तारपछि आवागमन सहज हुने अपेक्षा गरिएको थियो ।
हाल अदालतको अन्तिम निर्णय नआएसम्म सडक विस्तारको काम अघि बढ्ने छैन । यसले सहरको पूर्वाधार विकास योजनामा अस्थायी अवरोध सिर्जना गरेको छ ।