पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आज समीक्षा बैठक सम्पन्न भएको छ ।
क्षेत्रीय सभापति फैयाज मियाको सभापतित्वमा सम्पन्न बैठकमा हालसम्मका गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमहरूबारे छलफल गरिएको थियो ।
कार्यक्रममा क्षेत्र नम्बर २ का सांसद सुशिल कुमार कानुले मतदाताका समस्या समाधानमा सक्रिय हुन सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । उनले जनताको विश्वास कायम राख्न निरन्तर जनसम्पर्कमा रहन र स्थानीय समस्या समाधानमा पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकले हालै सम्पन्न निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा समर्थकलाई धन्यवाद व्यक्त गरेको छ । यसका साथै, पार्टी संगठन सुदृढीकरणका लागि सदस्यता विस्तार अभियानलाई तीव्र बनाउने, आगामी अधिवेशनको तयारीलाई व्यवस्थित गर्ने र स्थानीय तहसम्म संगठन विस्तार गर्ने विषयमा समेत छलफल गरेको जनाएको छ ।
कार्यक्रममा यूवा नेता सुधिर पटेल, मुर्ली जलान, जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सचिव किसान प्रसाद, क्षेत्रीय सदस्य विजय यादव लगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बैठकले संगठनलाई अझ प्रभावकारी बनाउँदै जनतासँगको सम्बन्ध सुदृढ गर्ने निर्णय समेत गरेको छ ।