सामाजिक सेवामा सक्रिय संस्था उपकार सेवा नेपालले पर्साको वीरगंज महानगरपालिका–२२, मनोयारी निवासी एक जना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका दलित (मुसहर) समुदायका असहाय व्यक्तिलाई ह्विलचेयर प्रदान गरेको छ ।
संस्थाले एक सानो कार्यक्रम आयोजना गरी उक्त ह्विलचेयर हस्तान्तरण गरेको हो । उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्या कुमारी सरावगीले ती अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर हस्तान्तरण गर्दै मानवीय सेवाभन्दा ठूलो धर्म अरू केही नभएको बताउनुभयो । उहाँले समाजका पछाडि परेका, गरिब तथा असहाय वर्गलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी प्रकाश थारु लगायत स्थानीय भद्रभलादमी, सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित व्यक्तिहरूले उपकार सेवा नेपालको पहलको प्रशंसा गर्दै यस्ता सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए ।
ह्विलचेयर प्राप्त गरेपछि लाभग्राहीले खुशी व्यक्त गर्दै दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक सहयोगबाट वञ्चित रहँदै आएका उनलाई उक्त सहयोगले ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन् ।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दूरदराजका गाउँबस्तीमा पुगेर असहाय, निसहाय तथा विपन्न समुदायका व्यक्तिहरूलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री लगायत आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको छ ।