चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगंज नाका हुँदै हुने वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ । वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १३ प्रतिशतले बढेको हो ।
चालु आवको चैत मसान्तसम्ममा यस नाकाबाट कुल ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका विभिन्न वस्तु तथा सामान नेपाल भित्रिएका छन् । गत वर्ष सोही अवधिमा ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँको आयात भएको थियो । यस आधारमा करिब ८० अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात वृद्धि भएको देखिन्छ ।
आयात वृद्धिमा पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको मुख्य योगदान रहेको छ । नौ महिनाको अवधिमा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै, निर्माण क्षेत्रमा प्रयोग हुने फलाम तथा फलामजन्य सामग्रीको आयात ६२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
वनस्पति तेल उद्योगका लागि आवश्यक कच्चा भटमासको तेलको आयात पनि उल्लेख्य रूपमा बढ्दै ५० अर्ब ४० करोड रुपैयाँ पुगेको छ। साथै, मेसिनरी तथा इलेक्ट्रिकल उपकरणहरूको आयातले पनि अर्बौंको आँकडा पार गरेको छ ।
यस अवधिमा वीरगंज भन्सार कार्यालयले कुल १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।