वीरगंज महानगरपालिकाले मुख्य सडक (मेनरोड) विस्तार अभियानका क्रममा सडक सीमाभित्र परेका घर–टहरा डोजर लगाएर भत्काइएपछि त्यसको अनुचित फाइदा उठाउँदै केही घरधनीहरूले मनपरी भाडा वृद्धि गर्ने, अवैध धरौटी रकम माग्ने तथा बहालमा बसेका पसलेलाई जबर्जस्ती हटाउन खोज्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरपालिकाले औपचारिक सूचना जारी गर्दै पछिल्लो समय मेनरोड आसपासका क्षेत्रमा भाडा अस्वाभाविक रूपमा बढाउने, बढी भाडा पाउने लोभमा पुराना भाडावाललाई पूर्वसम्झौता उल्लङ्घन गर्दै हटाउन दबाब दिने, र कानुनविपरीत अत्यधिक धरौटी माग्ने जस्ता गतिविधि बढेको जनगुनासो प्राप्त भएको उल्लेख गरेको छ ।
महानगरपालिकाका अनुसार सडक विस्तारका कारण विस्थापित भएका व्यवसायीहरू नयाँ स्थान खोज्ने क्रममा रहेका बेला केही घरधनीहरूले सो अवस्थाको दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजेको पाइएको छ । यसले बजार व्यवस्थापनमा अव्यवस्था सिर्जना गर्नुका साथै व्यवसायीहरूको अधिकारमाथि प्रत्यक्ष असर पारिरहेको महानगरको ठहर छ ।
महानगरपालिकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबै घरधनीलाई कडा आग्रह गर्दै यदि कसैले नियमविपरीत कार्य गरेको पाइएमा जरिवानासहित प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
साथै, घर, कोठा, सटर तथा गोदाम बहालमा दिँदा वा लिँदा दुवै पक्षबीच दबाबरहित, पारदर्शी र यथार्थ भाडा दर कायम गर्नुपर्ने स्पष्ट पारिएको छ । गरिएको बहाल सम्झौता सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रूपमा प्रमाणीकरण गराई सो सम्झौताको एक प्रति महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखामा बुझाउन पनि निर्देशन दिइएको छ ।
महानगरले बजारलाई व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउन सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गर्दै नियमविपरीत हुने कुनै पनि गतिविधि तत्काल नियन्त्रणमा लिन प्रतिबद्ध रहेको जनाएको छ ।