सीमा नाकाबाट हुन सक्ने विदेशी नागरिकको अवैध घुसपैठ रोक्न वीरगंज नाकामा बिहीबारदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग खुला सीमा जोडिएका नाकाबाट विभिन्न उद्देश्यले विदेशी नागरिक प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी बढाइएको हो ।
वीरगंज नाका को शंकराचार्य प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीको संयुक्त टोलीले चेकजाँचमा कडाइ गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल का अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार विदेशी यात्रुहरूको विशेष निगरानी थालिएको हो ।
संयुक्त टोलीले नाकामै पासपोर्ट र भिसा जाँच गर्नुका साथै यात्रुहरूको सम्पर्क नम्बर र अन्य विवरण संकलन गरी अभिलेख राख्ने काम गरिरहेको छ । राष्ट्रिय सुरक्षा सुदृढ पार्ने उद्देश्यले यस्तो अभियान सुरु गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रका बासिन्दालाई सहयोगका लागि अपिल गर्दै शंकास्पद विदेशी नागरिक देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ । होटल तथा लज व्यवसायीलाई पनि यस्ता गतिविधि भएमा तुरुन्त सूचना दिन भनिएको छ ।
यसअघि विश्व हिन्दू परिषद् नेपाल ले बारामा आयोजना हुन लागेको ‘इज्तिमा’ धार्मिक भेलामा सहभागी हुने बहानामा बंगलादेश र म्यानमारका रोहिङ्ग्या नागरिक अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने भन्दै नाकामा कडाइ गर्न माग गरेको थियो ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुरमा आयोजना हुन लागेको उक्त धार्मिक कार्यक्रममा पाकिस्तान, बंगलादेशलगायत देशबाट सहभागी आउने तयारी रहेको सूचना प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले सीमा नाकाबाट हुन सक्ने अवैध गतिविधि रोक्न र समग्र सुरक्षा व्यवस्था मजबुत बनाउन विशेष निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ ।