बाराको मानमत – कलैया मटिअर्वा सडकखण्ड निर्माणमा चरम लापरबाही गरेको ठहर गर्दै हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय वीरगञ्जले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
ठेक्का नं. HRP/337011284/077-78/UR-005 अन्तर्गत बाँकी रहेको सडक स्तरोन्नति कार्यका लागि सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे.भी. लाई पटक–पटक म्याद थप गरिए पनि समयमै काम सम्पन्न गर्न चासो नदेखाएपछि सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ ।
निर्देशनालयका अनुसार लामो समयसम्म सडक अधुरो छाडिँदा धुलाम्य र हिलाम्य अवस्थामा पुगेको थियो । यसले सवारी दुर्घटना बढाउनुका साथै स्थानीयवासीको जनजीवन जोखिमपूर्ण र कष्टकर बनेको थियो ।
कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदै काम सम्पन्न गर्न आग्रह गरेको थियो । कम्पनीले लिखित प्रतिबद्धता जनाए पनि प्रगति नभएपछि २०८२ असोज ३१ गते १५ दिने अन्तिम स्पष्टीकरण सूचना जारी गरिएको थियो । त्यसपछि पनि सन्तोषजनक सुधार नआएपछि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का तोड्ने निर्णय गरिएको हो ।
कार्यालयले अब कम्पनीको कार्यसम्पादन जमानत रकम जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने अतिरिक्त रकम सरकारी बाँकीसरह असुलउपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
साथै हालसम्म सम्पन्न कामको नापजाँच, मूल्याङ्कन तथा वित्तीय फरफारखका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन कम्पनीलाई अन्तिम मौका दिइएको छ । तोकिएको समयभित्र उपस्थित नभए एकतर्फी रूपमा नापजाँच प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।