जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा क्षेत्रमा पथलैया–वीरगन्ज सडकखण्डको सडकपेटीमा फेला परेको एक वेवारिसे शव प्रकरणमा प्रहरीले गम्भीर रहस्य खुलाएको छ ।
गत सोमबार बिहान फेला परेको शव पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३५ वर्षीय पल्टु माझी मुसहरको भएको पुष्टि भएको हो ।
ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक दिवाकर गणेशको नेतृत्वमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको थियो। घटनास्थलको मुचुल्का र सिसिटिभी फुटेज संकलनपछि घटना शंकास्पद देखिएपछि थप अनुसन्धान तीव्र पारिएको हो ।
सिसिटिभी फुटेजमा बा ३ च १४४३ नम्बरको निलो कारमा आएका व्यक्तिहरूले शव सडक किनारामा छोडेर फरार भएको देखिएको प्रहरीले जनाएको छ । सोही आधारमा अनुसन्धान अघि बढाउँदै ४८ घण्टाभित्रै प्रहरीले कारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पछि काभ्रेको बनेपा नगरपालिका–८ धुलबजारस्थित एक वर्कशपबाट चालक समिउल्लाह आलम (मुन्ना) पक्राउ परेका छन् । उनीसँगै पर्साका २० वर्षीय विशाल साह र बाराका २५ वर्षीय कौशल देवानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना निर्माण मजदुर (मिस्त्री) हुन् र काभ्रेको पाँचखालमा बस्दै आएका थिए । उनीहरूलाई वीरगन्जका ठेकेदार मेहराज अन्सारीले काममा लगाएको खुलेको छ ।
प्रारम्भिक बयानअनुसार मृतक माझी बिरामी अवस्थामा रहेका थिए । अवस्था बिग्रँदै गएपछि ठेकेदारको निर्देशनमा उनलाई काभ्रेबाट बारासम्म ल्याउने क्रममा सडक किनारामा छोडिएको अनुसन्धानमा देखिएको छ । तर, प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
अर्कोतर्फ, पक्राउ परेकाहरूले भने बाटोमै मृत्यु भएको र डरका कारण शव छोडिएको दाबी गरेका छन्। प्रहरीले भने घटनामा योजनाबद्ध संलग्नता हुनसक्ने भन्दै ठेकेदारसहित चार जनामाथि अनुसन्धान गरिरहेको छ ।
मृतकका परिवारले घटनालाई नियोजित हत्या भएको आशंका गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । मृतकका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।