पथलैया स्थित नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ले क्षमताभन्दा बढी भारबहन (ओभरलोड) गर्ने मालबाहक सवारीसाधनमाथि कडाइ गरेको छ ।
भारबहन नियमन सम्बन्धी निर्देशिका २०७४ अनुसार तोकिएको सीमा भन्दा बढी सामान ढुवानी गर्ने सवारीसाधनलाई बुधबार र बिहीबार दुई दिनमा ६ वटा गाडी कारबाही गरिएको कार्यालयले जनाएको छ । सो कारबाहीबाट १ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंह का अनुसार यसअघि सवारीलाई न्यूनतम जरिवाना गरी पठाउने गरिए पनि अब सबै ओभरलोड सवारीलाई थप कारबाहीका लागि वीरगन्ज स्थित यातायात व्यवस्था कार्यालयमा पठाइनेछ ।
उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख १० गतेसम्म २६५ वटा ओभरलोड सवारी कारबाहीका लागि सिफारिस गरिएको छ, जसबाट करिब ४० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
यसैगरी चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ८० हजारभन्दा बढी सवारीमाथि कारबाही गरी ७ करोड ९२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ३,२४५ चालकलाई कारबाही गर्दै १६ लाख ७६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । साथै पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्ने १५ चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको छ ।
कार्यालयले मधेस प्रदेशका सबै मातहत कार्यालयलाई ओभरलोड नियन्त्रण, मापसे जाँच र तीव्र गति नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएको छ । पछिल्ला तथ्यांकअनुसार प्रदेशमा ६ हजारभन्दा बढी दुर्घटनामा ३९८ जनाको मृत्यु र ९ हजारभन्दा बढी घाइते भएका छन् ।