जिल्ला प्रशासन कार्यालय पर्साले जोखिमपूर्ण अवस्थामा रहेका घर तथा टहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाको सडक विस्तार कार्यक्रम अन्तर्गत वैशाख ६ गते वीरगंजको मितेरी पुलदेखि गणडक चौकसम्मको निर्धारित सीमाभित्र पर्ने घर–टहराहरू भत्काइएको थियो । अधिकांश घरधनीहरूले स्वस्फूर्त रूपमा आफ्ना संरचना हटाई व्यवस्थापन गरिरहेको भए पनि केही स्थानमा भत्किएका तथा जोखिमयुक्त संरचनामा पुनः व्यापार सञ्चालन भइरहेको पाइएको प्रशासनले जनाएको छ ।
यस्ता जोखिमपूर्ण संरचनामा व्यापार सञ्चालन गर्दा घरधनी, व्यवसायी तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले तत्काल त्यस्ता गतिविधि बन्द गर्न प्रशासनले चेतावनी दिएको छ । यसका साथै, सम्भावित दुर्घटनाबाट हुने क्षतिको जिम्मेवारी स्वयं घरधनीले वहन गर्नुपर्ने र प्रचलित कानूनअनुसार कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ ।
जोखिमयुक्त संरचनाको व्यवस्थापनका क्रममा कामदारको सुरक्षालाई उच्च प्राथमिकता दिन पनि प्रशासनले अनुरोध गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिएका छन् ।