पथलैयास्थित नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन हुने मालवाहक सवारीसाधनमाथि निगरानी तथा कारवाही कडाइ गरेको छ । भारबहन नियमन सम्बन्धी निर्देशिका, २०७४ ले तोकेको सीमा भन्दा बढी भार बोकेका सवारीलाई लक्षित गर्दै कार्यालयले विशेष निगरानी सुरु गरेको हो ।
कार्यालयका अनुसार बुधबार र बिहीबार मात्र ६ वटा ओभरलोड मालवाहक सवारीसाधनलाई कारवाही गरिएको छ । ती सवारीबाट १ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार यसअघि यस्ता सवारीलाई कार्यालयबाटै न्यूनतम जरिवाना गरी छाड्ने गरिएको भए पनि अहिले सबै ओभरलोड सवारीलाई सिधै वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय पठाउने व्यवस्था गरिएको छ । त्यहाँ तोकिएको मापदण्डअनुसार जरिवाना असुल गरिने उनले बताए ।
प्रवक्ता सिंहले मधेश प्रदेश अन्तर्गतका सबै मातहत कार्यालयलाई समेत क्षमता भन्दा बढी सामान ढुवानी गर्ने सवारीसाधनलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । साथै, चालकहरूलाई निर्देशिका २०७४ अनुसार मात्र सामान ढुवानी गर्न सचेत गराउन र अटेर गर्ने सवारीलाई कारवाहीका लागि सिफारिस गर्न आग्रह गरिएको छ ।
चालु आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख १० गतेसम्म २६५ वटा ओभरलोड सवारीसाधनलाई कारवाहीका लागि यातायात कार्यालयमा सिफारिस गरिएको छ । यसबाट ४० लाख ५९ हजार ९ सय ६१ रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको चैत मसान्तसम्म ८० हजार ८२ वटा सवारीसाधनमाथि गरिएको कारवाहीबाट कुल ७ करोड ९२ लाख ५५ हजार ५८ रुपैयाँ राजश्व उठाइएको कार्यालयले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३ हजार २ सय ४५ चालकलाई पनि कारवाही गरिएको छ । यसबाट १६ लाख ७६ हजार रुपैयाँ जरिवाना संकलन भएको प्रवक्ता सिंहले बताए ।
कार्यालय तथा मातहतका जिल्लाहरूले चैत मसान्तसम्म १६ हजार ४ सय ३९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्, जसबाट ७ लाख ६२ हजार ५ सय ४४ जना लाभान्वित भएका छन् ।
चालु आर्थिक वर्षमा मधेश प्रदेशभर ६ हजार ८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३ सय ९८ जनाको मृत्यु भएको छ भने ९ हजार ७ सय ३८ जना घाइते भएका छन् ।
मदिरा सेवन गरेर सवारी चलाउने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटना बढिरहेको भन्दै प्रवक्ता सिंहले तीव्र गति नियन्त्रण र मापसे जाँचलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएका छन् ।
यसैबीच, पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेका १५ जना चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जमा सिफारिस गरिएको छ ।