कलैया उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सवारी साधन सञ्चालन सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद यादवले शुक्रबार सूचना जारी गर्दै भरत चोकदेखि पश्चिम, उत्तर तथा दक्षिणतर्फ सञ्चालन हुँदै आएका कलैयादेखि वीरगञ्ज, नारायणघाट र काठमाडौँका लागि चल्ने बस, मिनीबस, म्याजिक, टेम्पो, ईभी माइक्रो र टाटा सुमो लगायतका सबै सवारी साधन अब वडा नं. ४ स्थित बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।
उपमहानगरपालिकाका अनुसार बजार क्षेत्रमा बढ्दो ट्राफिक चाप नियन्त्रण गर्दै यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन उक्त निर्णय लागू गरिएको हो ।
साथै सम्बन्धित यातायात व्यवसायी तथा चालकहरूलाई निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको उपमहानगरपालिकाले जनाएको छ ।