महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया देखि चुरियामाई खण्डसम्म सडक सीमा मिचेर निर्माण गरिएका संरचनाहरू व्यवसायीहरूले आफैँ हटाउन थालेका छन् ।
सडक डिभिजन कार्यालय हेटौंडाले सडकको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर भित्र पर्ने अवैध घर, टहरा तथा पसलहरू हटाउन ३ दिनको अन्तिम अल्टिमेटम दिएपछि अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकका व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा आफ्ना संरचना हटाउन सुरु गरेका हुन् ।
डिभिजन कार्यालयले वैशाख १० गतेभित्र सडक सीमा खाली गर्न सूचना जारी गर्दै अटेर गरेमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार डोजर प्रयोग गरी संरचना भत्काइने चेतावनी समेत दिएको थियो ।
विगतमा पटक–पटक सूचना जारी गर्दा पनि अतिक्रमण नहटाइएपछि यसपटक सडक डिभिजन कार्यालयले कडाइका साथ कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । पछिल्लो समय देशभर सडक तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनेको सन्दर्भमा स्थानीय व्यवसायीहरूमा पनि सचेतना बढेको देखिएको छ ।
प्रशासनको सक्रियता र सम्भावित क्षतिको जोखिमलाई मध्यनजर गर्दै व्यवसायीहरूले आफ्ना सामान सुरक्षित स्थानमा सार्दै संरचना हटाउन थालेका छन् । यसपछि राजमार्ग विस्तार तथा मर्मत कार्यमा सहज हुने अपेक्षा गरिएको छ ।