पर्सा जिल्लामा नेपाली कांग्रेसको ‘जरा अभियान’ सुरु गरिएको छ । पार्टी संगठनलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय कार्य समितिले वैशाख १ गतेदेखि देशभर अभियान सञ्चालन गर्ने निर्देशन दिएको भए पनि पर्सामा भने शनिबारदेखि मात्रै औपचारिक रूपमा अभियान सुरु गरिएको हो ।
वीरगन्ज–२४ रामगढवास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस पर्साले अभियानको सुरुवात गरेको हो । कार्यक्रम कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्वमन्त्रीहरू सुरेन्द्र चौधरी र अजय चौरसिया, मधेस प्रदेश सरकारका कृषिमन्त्री श्याम पटेल, पार्टीका जिल्ला सचिव एवं वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, सहसचिव नवीन सिंहलगायत नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कांग्रेसले ‘एक महिने जरा अभियान’ अन्तर्गत पार्टी संगठनलाई आधार तहसम्म पुनः सक्रिय बनाउने लक्ष्य राखेको छ । अभियानमा क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा नागरिक संवादजस्ता कार्यक्रम सञ्चालन गरिनेछन् । डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गरी पार्टीलाई गाउँ–टोलसम्म सशक्त बनाउने उद्देश्यले यस अभियान सञ्चालन गरिएको हो ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार वैशाख १ गतेदेखि महिनाभर क्रियाशील सदस्यता अभियान सञ्चालन हुनेछ । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई सदस्यता अद्यावधिकको प्राविधिक प्रक्रियाबारे प्रशिक्षण दिइएको छ भने केन्द्र तथा स्थानीय तहबाट अतिरिक्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ ।
उनका अनुसार ‘जरा अभियान’ को अर्थ पार्टीलाई पुनः आधार तहसम्म सुदृढ बनाउनु हो । “जरा भनेको रुखको आधार हो, अब जरामै गएर पानी र मल हाल्नुपर्छ । केन्द्र र सदरमुकामबाट गाउँ र टोलसम्म पुग्नुपर्छ भन्ने यसको मर्म हो,” उनले भने, “सदस्यता अद्यावधिक गर्न सदस्यता लिएको स्थानमै जानुपर्छ, अन्यथा अद्यावधिक हुँदैन ।”
कांग्रेसका हाल ८ लाख ६३ हजार क्रियाशील सदस्य रहेका छन् । तीमध्ये करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा छैन भने धेरै नम्बर गलत वा दोहोरिएका छन् । अब अद्यावधिकका क्रममा सम्बन्धित स्थानमै पुगेर फोटो खिच्नुपर्ने र मोबाइल नम्बर अनिवार्य राखिएको छ ।