वीरगंजस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मदन उपाध्यायलाई पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बिहीबार ११ औं तहका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा हाल परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा. उपाध्यायलाई मेसुको जिम्मेवारी दिएर पठाउने निर्णय गरेकी हुन् ।
यसअघि वैशाख ३ गते मन्त्रालयले नीति, योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई काज फिर्ता गरेर नारायणी अस्पतालको मेसुमा पठाउने निर्णय गरेको थियो । तर बिहीबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सार्क क्षयरोग केन्द्रमा पठाइएको छ । डा. दासले यसअघि २०८१ असोज पहिलो साता पनि नारायणी अस्पतालको मेसुको जिम्मेवारी सम्हालेका थिए । झण्डै एक वर्ष मेसुको जिम्मेवारी सम्हालेपछि उनलाई मन्त्रालयको नीति, योजना महाशाखामा काजमा सरुवा गरिएको थियो ।
नयाँ मेसुका रूपमा आउन लागेका डा. उपाध्यायले यसअघि पनि नारायणी अस्पतालको नेतृत्व सम्हालिसकेका छन् । विशेषगरी कोभिड–१९ को दोस्रो लहरका बेला उनले मेसुको जिम्मेवारी निर्वाह गरेका थिए ।
बिहीबारको निर्णयअनुसार सार्क क्षयरोग केन्द्रका प्रमुख डा. अनुज भट्टचनलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा सरुवा गरिएको छ । यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा पठाइएको छ भने मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी यसोदा अर्याललाई दिइएको छ ।
अर्याललाई यसअघि तालिम केन्द्रबाट मन्त्रालयमा ल्याएर स्वास्थ्य समन्वय महाशाखाको प्रमुख बनाइएको थियो । हाल परिवार कल्याण महाशाखामा भने नयाँ प्रमुख तोकिएको छैन । यसअघि स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी डा. प्रकाश साहलाई दिइएको थियो ।
यसअघि २ वैशाखमा मन्त्री मेहताले पहिलो चरणमा पनि उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेकी थिइन् । सो क्रममा नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी डा. गुणानिधि शर्मालाई, गुणस्तर मापन तथा नियमन महाशाखा डा. रोशन न्यौपानेलाई र स्वास्थ्य समन्वय महाशाखा यसोदा अर्याललाई दिइएको थियो ।
त्यसअघि नीति, योजना तथा अनुगमन महाशाखामा डा. चुमनलाल दास, गुणस्तर मापन तथा नियमनमा डा. सरोज शर्मा र स्वास्थ्य समन्वयमा भीम सापकोटा कार्यरत थिए । पछि डा. शर्मालाई वीर अस्पतालमा काज फिर्ता गरिएको थियो भने सापकोटालाई हेटौडास्थित कीटजन्य प्रयोगशालामा पठाइएको थियो ।