बाराको सदरमुकाम कलैयामा ट्राफिक व्यवस्थापन सुधार गर्न सार्वजनिक सवारीसाधन बसपार्कबाटै सञ्चालन गर्ने निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
कलैया उपमहानगरपालिकाले गत वैशाख ११ गतेदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधन कलैया–४ स्थित बसपार्कबाट अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने सूचना जारी गरेको थियो । तर वैशाख १३ गते आइतबारसम्म पनि उक्त निर्णय प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।
उपमहानगरपालिकाले भरत चोकदेखि पश्चिम, उत्तर र दक्षिणतर्फ सञ्चालन हुने बस, मिनी बस, म्याजिक, टेम्पो, ईभी माइक्रो तथा टाटा सुमोलगायतका सवारीसाधन बसपार्कबाटै चलाउनुपर्ने जनाएको थियो । यद्यपि, आइतबार दिउँसोसम्म अधिकांश सवारीसाधन मुख्य चोक र सडक खण्डमै जथाभाबी पार्किङ गरिरहेको अवस्था देखिएको छ ।
विशेषगरी भरत चोक क्षेत्रमा यात्रु चढाउने–ओराल्ने कार्य अनियन्त्रित रूपमा भइरहँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
यस विषयमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक भानुभक्त नेपालले कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गरेका छन् । उनका अनुसार मौसममा सुधार आएर पानी पर्न बन्द हुने बित्तिकै आजैबाट सवारीसाधनलाई बसपार्कबाट सञ्चालन गराउने कार्य कडाइका साथ लागू गरिनेछ ।
मुख्य बजार क्षेत्रमा लामो समयदेखि हुने सवारी जाम हटाउन र आवागमन सहज बनाउन ल्याइएको यो योजना प्रभावकारी अनुगमनको अभावमा कार्यान्वयन हुन नसकेको देखिएको छ । उपमहानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय गरी निर्णय पूर्ण रूपमा लागू गर्न सके मात्र कलैयाको ट्राफिक व्यवस्था सुधार हुने अपेक्षा गरिएको छ ।