पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पारसनाथ महादेव महुवन मठअन्तर्गत पर्ने गुठी संस्थानको अतिक्रमित करिब ५ बिघा जग्गा आइतबार डोजर प्रयोग गरी खाली गराइएको छ ।
मधेस प्रदेश सरकारको निर्देशन र सखुवा प्रसाैनी गाउँपालिकाको अग्रसरतामा सुरक्षाकर्मीको सहयोगमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको हो । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको निर्देशनअनुसार बिहानैदेखि ७ वटा डोजर प्रयोग गरेर अतिक्रमण हटाइएको सखुवा प्रसाैनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिएका छन् । उनका अनुसार मठअन्तर्गतको कित्ता नम्बर २७६ मा पर्ने करिब ५ बिघा ६ कठ्ठा क्षेत्रफलको पोखरी डिलसहितको गुठी जग्गामा अवैध रूपमा निर्माण गरिएका ३ सय ८० भन्दा बढी घर–टहरा भत्काएर हटाइएको हो ।
उक्त क्षेत्रमा केही वर्षयता स्थानीय र बाहिरबाट आएका व्यक्तिहरूले गुठीको जग्गा कब्जा गरी बसोबास तथा विभिन्न संरचना निर्माण गर्दै कब्जा गरेका थिए । यसले मठको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वमा असर पारेको भन्दै स्थानीय सरोकारवालाहरूले लामो समयदेखि अतिक्रमण हटाउन माग गर्दै आएका थिए । यसअघि गाउँपालिकाले २०८१ माघ ४ गते सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको थियो । त्यस्तै, गुठी संस्थान वीरगञ्जले पनि २०८१ पुस २९ गते सूचना जारी गरी स्वेच्छाले संरचना हटाउन अनुरोध गरेको थियो । तर ती दुवै सूचनालाई बेवास्ता गरेपछि अन्ततः बल प्रयोग गरेर अतिक्रमण हटाउनुपरेको सखुवा प्रसाैनी गाउँपालिकाले जनाएकाे छ ।
मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको प्रत्यक्ष निर्देशनमा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमण हटाउने कार्य अघि बढाइएको जनाएको छ । “राज्यको सम्पत्ति जोगाउनु सरकारको दायित्व हो, त्यसैले कानुनी प्रक्रिया अनुसार अतिक्रमण हटाइएको प्रहरीले जनाएकाे छ । अतिक्रमण हटाउने क्रममा केही स्थानीयले विरोध जनाए पनि ठूलो झडप भने नभएको प्रहरीले जनाएको छ । सम्भावित विवादलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उल्लेख्य उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष यशवन्त यादवका अनुसार महुवन क्षेत्रमा मात्रै होइन, सोही गुठी अन्तर्गतका थप करिब २९ बिघा अतिक्रमित जग्गा पनि चरणबद्ध रूपमा खाली गराउने तयारी भइरहेको बताए । उनले यो अभियान निरन्तर जारी रहने र बाँकी अतिक्रमित जग्गा पनि कानुनी प्रक्रिया अनुसार खाली गराइने बताए ।
अतिक्रमण हटाइएपछि गुठी संस्थानमा उक्त जग्गा पुन संरक्षित गरिने सखुवा प्रसाैनी गाउँपालिकाले जनाएकाे छ ।