नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगंजले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका पक्की तथा कच्ची घर, टहरा, भकारी, झुप्रा र पसलहरू हटाउने अभियान सुरु गरेको छ ।
बिहान ६ बजेदेखि सुरक्षाकर्मी परिचालन गर्दै अतिक्रमण हटाउने कार्य सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगंज र गुठी संस्थानको आग्रहमा वीरगंजको गण्डक चोकदेखि पर्साको जानकी टोलासम्म करिब २६ किलोमिटर गण्डक नहरको दायाँ–बायाँ (डिल) क्षेत्रमा बनेका करिब ४८० वटा पक्की तथा कच्ची संरचना हटाउने काम भइरहेको छ।
त्यसैगरी, गुठी संस्थान पर्साको अनुरोधमा महुवन मठ वरपर गुठीको जग्गा अतिक्रमण गरी बनाइएका करिब ४८ वटा कच्ची तथा पक्की घर–टहरा पनि साँझसम्म हटाइसकिने गरी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगंजका प्रमुख मनोज पटेलका अनुसार गण्डक चोक र पर्साको जानकी टोलाबाट एकैसाथ चार वटा डोजर (ब्याकहो लोडर) तथा प्राविधिक र जनशक्ति परिचालन गरी संरचना हटाउने कार्य भइरहेको छ।
उहाँका अनुसार पहिलो चरणमा गण्डक नहरको मुख्य भाग र दोस्रो चरणमा सहायक नहरका डिलमा बनेका संरचना हटाइनेछ।
नहर किनारमा अव्यवस्थित बसोबास र संरचनाका कारण सरसफाइमा समस्या हुनुका साथै फोहोर थुप्रिँदा पानी जम्ने र प्रवाहमा समेत असर परेको बताइएको छ।