अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारत, बिहार राज्यको वेतीया जिल्ला बगाहा थाना निवासी ३० वर्षीय विकास शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट लुकिछिपी बस्दै आएका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
शर्मा ‘Zen-Z’ आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए । उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएको थियो । प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गतेदेखि फरार रहेका थिए ।
पक्राउ परेका शर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै, फरार अभियुक्तहरूको खोजी तथा नियन्त्रण कार्यलाई अझ तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।