पर्साको पोखरिया नगरपालिका वडा नं. १ मा ८ जना एकलमहिला रहेकोमा एकल महिलाको नाममा १४० साडी वितरण गरिएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वडा अध्यक्ष प्रमोद गिरीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत सामग्री वितरण गरेको प्रस्ट पारेको छ । मलेपाको प्रतिवेदनमा उल्लेख भएअनुसार वडा नं. १ मा जम्मा ८ जना एकल महिला मात्रै रहेको अभिलेख छ । तर २०८० पुस १६ गतेको भौचरमार्फत प्रति साडी ७ सय ११ रुपैयाँका दरले १ सय ४० थान साडी खरिद गरी वितरण गरिएको देखाएको छ । यसरी आवश्यकभन्दा १ सय ३२ थान बढी साडी वितरण गर्दा कुल ९३ हजार ९ सय ७० रुपैयाँ बराबरको अनियमितता भएको महालेखा परिक्षक कार्यालयले औंल्याएको छ ।
नियम अनुसार स्वीकृत वार्षिक कार्यक्रम तथा लक्षित समूहका आधारमा मात्र सामग्री वितरण गर्नुपर्ने व्यवस्था भएपनि उक्त प्रावधानको पालना नगरी मनपरी ढंगले वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ । पाेखरिया नगरपालिकाका मेयर प्रदुमन चाैहानकाे वडा समेत रहेकाे वडा नम्बर १ का वडा अध्यक्ष मोद गिरीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत साडि वितरण गर्दा स्पष्ट मापदण्ड, लाभग्राही पहिचान र पारदर्शी प्रक्रिया अपनाउनुपर्नेमा त्यसको उल्लंघन गर्दै अवैध रूपमा साडि वितरण गरेकाे मलेपाले देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले लाभग्राही संख्या भन्दा बढी सामग्री खरिद तथा वितरण गरेकाले सो बराबरको रकम सम्बन्धित वडा अध्यक्ष प्रमाेद गिरीबाट असुल गरी राज्य कोषमा दाखिला गर्न निर्देशन दिएको छ । यसका साथै यस्ता कार्यले सार्वजनिक खर्चमा पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने भएकाले आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन कडाइ गर्न समेत सुझाव दिइएको छ ।
स्थानीय तहमा वितरणमुखी कार्यक्रम सञ्चालन गर्दा तथ्यांकमा आधारित योजना, उचित अभिलेख व्यवस्थापन र निगरानी प्रणाली मजबुत बनाउनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।