नेपाली फिल्म हलमा नपुग्दासम्म धेरै फिल्मकर्मीलाई आफ्नो फिल्मको चर्चा राम्रो भइरहेको अनुभूति हुन्छ । तर प्रदर्शनका बेला हलमा अधिकांश सिट खाली देखेपछि मात्र उनीहरूले प्रचार–प्रसारमा कमजोरी भएको महसुस गर्ने गरेका छन् ।
हरेक वर्ष धेरैजसो नेपाली फिल्म घाटामा जानुको प्रमुख कारणका रूपमा कमजोर कथा र फितलो मार्केटिङलाई लिने गरिन्छ । फिल्मकर्मीहरू स्वयंले पनि यही दुई पक्षलाई मुख्य चुनौतीका रूपमा स्वीकार गर्दै आएका छन् ।
गत असोजमा दसैंको अवसर पारेर रोहित अधिकारीको निर्माणमा फिल्म माइतीघर प्रदर्शनमा आएको थियो । प्रदर्शनअघि निर्माता अधिकारीले आफ्नो फिल्मको प्रचार व्यापक भइरहेको महसुस गरेका थिए । तर रिलिजपछि फिल्मले करिब ४ करोड रुपैयाँ मात्र व्यापार गर्यो ।
निर्माता अधिकारीका अनुसार प्रचारका लागि सामाजिक सञ्जालमार्फत मात्र करिब १७ लाख रुपैयाँ खर्च गरिएको थियो । उनले फिल्मको टाइटल गीतमा उत्कृष्ट भिडियो बनाउनेलाई ५ लाख रुपैयाँ पुरस्कारसमेत घोषणा गरेका थिए । समग्रमा करिब ५० लाख रुपैयाँ मार्केटिङमा खर्चिएको उनको भनाइ छ ।
यद्यपि, यति धेरै खर्च गर्दा पनि फिल्मले अपेक्षित व्यापार गर्न सकेन । ‘हामीले काठमाडौंमा मात्रै प्रचारमा ध्यान दियौँ, तर दार्चुला, बैतडी, दाङ वा धनगढी जस्ता क्षेत्रका दर्शकसम्म प्रचार पुग्न सकेन,’ अधिकारीले अनुभव सुनाए ।
फिल्म क्षेत्रका जानकारहरूका अनुसार नेपाली फिल्मको प्रचार अझै शहरी केन्द्रमै सीमित रहेको छ । देशभरका दर्शकसम्म प्रभावकारी रूपमा पुग्न नसक्दा राम्रो सामग्री भएका फिल्मसमेत व्यावसायिक रूपमा सफल हुन नसक्ने अवस्था देखिएको छ ।