वीरगंज भन्सार कार्यालय मातहत पर्सा र बारामा रहेका ११ वटा छोटी भन्सार कार्यालयमध्ये हाल दुई वटा मात्र सञ्चालनमा रहेका छन् भने बाँकी ९ वटा लामो समयदेखि बन्द अवस्थामा रहेका छन्।
राजस्व संकलन वृद्धि गर्ने उद्देश्यसहित सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य गर्ने नियम कडाइका साथ लागू गरिरहेको अवस्थामा छोटी भन्सार कार्यालयहरू बन्द रहनु विरोधाभासपूर्ण देखिएको छ।
हाल पर्साको ठोरी र बाराको मटिअर्वा छोटी भन्सार मात्र सञ्चालनमा छन्। बाराका पिपरपाती, सिम्रौनगढ, कवही र कचोर्वा तथा पर्साका सिर्सिया, भिष्वा, अलौं, गाढ प्रसौनी र जानकीटोला छोटी भन्सार लामो समयदेखि ठप्प छन्। पछिल्लो दुई सातायता सीमाक्षेत्रमा सुरक्षाकर्मीले कडाइ गरेका छन्।
यहाँ मुलुककै प्रमुख स्थल नाका वीरगंज मात्र नभई ग्रामीण क्षेत्रमा पनि थुप्रै साना नाका रहेका छन्। कर्मचारी अभावका कारण छोटी भन्सार कार्यालयहरू बन्द गर्नु परेको जनाइएको छ। यसले सीमावर्ती क्षेत्रका उपभोक्तालाई भन्सार शुल्क तिरेर पनि सामान ल्याउन कठिनाइ भइरहेको छ।
छोटी भन्सार रहेका अधिकांश नाका अहिले ठूलो बजारका रूपमा विकास भइसकेका छन्, जहाँ दैनिक रूपमा नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने–आउने गर्दछन्। तर भन्सार कार्यालय नहुँदा सरकारले दैनिक ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ।
सीमामा भन्सार कार्यालय नहुँदा आयातकर्ताले राजस्व तिरेर सामान ल्याउन चाहे पनि प्रक्रिया पूरा गर्न समस्या भइरहेको छ। कोरोना महामारीपछि बन्द भएको सिम्रौनगढ छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए, तर त्यो भन्सार अझै नियमित रूपमा सञ्चालनमा आएको छैन।
हाल सञ्चालनमा रहेका छोटी भन्सारहरूमा एक–एक जना नायब सुब्बा र कार्यालय सहयोगी मात्र खटाइएका छन्। वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनाली का अनुसार साना छोटी भन्सारहरू क्रमशः बन्द गर्दै लैजाने नीति रहेको छ।
उनका अनुसार गाउँ–गाउँमा भन्सार खोल्दा चोरी निकासी बढ्ने र मुख्य भन्सारसमेत कमजोर बन्ने जोखिम हुन्छ। त्यसैले सीमित स्थानमा मात्रै छोटी भन्सार सञ्चालन गरी बाँकी नाकाको जिम्मा सशस्त्र प्रहरीलाई दिने योजना रहेको उनले बताए।
छोटी भन्सार सञ्चालनका लागि केवल कर्मचारी मात्र नभई कम्प्युटर प्रणाली, बैंकिङ सेवा, खाद्य तथा पशु क्वारेन्टाइनजस्ता पूर्वाधार आवश्यक पर्ने भएकाले सबै ठाउँमा सञ्चालन सम्भव नभएको उनको भनाइ छ।