चलचित्र ‘लालीबजार’को आज साँझ तय गरिएको प्रिमियर शो उच्च अदालत पाटनको आदेशपछि रोकिएको छ ।
अदालतले तत्कालका लागि चलचित्र प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि निर्माण पक्ष मर्कामा परेको छ ।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै सोमबार उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै आगामी २२ वैशाखसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको हो ।
रिट निवेदनमा चलचित्रले वादी समुदायको पहिचानलाई गलत रूपमा ‘यौन व्यवसाय’ सँग मात्र जोडेर चरित्र हत्या गरिएको आरोप लगाइएको छ । साथै, समुदायको इतिहास र पहिचानलाई गलत ढंगले चित्रण गरिएको दाबीसमेत गरिएको छ ।
अदालतको आदेशमा कुनै पनि जातजाति, धर्म, वर्ण, क्षेत्र वा सम्प्रदायको मान–मर्यादा, इज्जत–प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने तथा द्वेष वा वैमनस्यता फैलाउने खालका सामग्री प्रदर्शन गर्नु नेपालको संविधानविपरीत हुने उल्लेख गरिएको छ ।
रिट निवेदक रोशनी नेपालीका अनुसार चलचित्रले वादी समुदायलाई विभेदपूर्ण ढंगले प्रस्तुत गरी युवापुस्तामा आफ्नो पहिचानप्रति ग्लानि र मानसिक तनाव उत्पन्न गराउने खालको भाष्य निर्माण गरेको छ । निर्माण पक्षलाई पटक–पटक सचेत गराउँदा पनि संवेदनशीलता नदेखिएको भन्दै कानुनी उपचारमा जानुपरेको उनको भनाइ छ ।
अदालतको आदेशपछि चलचित्रको प्रदर्शन अनिश्चित बनेको छ भने निर्माण टिमले आगामी कानुनी प्रक्रिया र निर्णयको प्रतीक्षा गरिरहेको छ ।