पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरी पन्त सवार गाडी बारा जिल्लाको जीतपुर सिमरा–७ स्थित गढीमाई मन्दिर नजिकै दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ४ बजे वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.१६ च ८२०६ नम्बरको कारमा विपरीत दिशाबाट आएको मधेश प्रदेश ०३–०३४ प १८७४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया–७ निवासी २० वर्षीय नवलकिशोर यादव र पछाडि सवार कलैया–१३ निवासी १७ वर्षीय जितेन्द्र यादव घाइते भएका छन् । कार चालक वीरगंज महानगरपालिका–११ निवासी ५२ वर्षीय मोहनलाल राउत रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई सांसद पन्तले आफ्नै गाडीमा राखेर सिमरास्थित अस्पतालमा उपचारका लागि पुर्याएका थिए । घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अर्का एक जनाको उपचार जारी रहेको छ ।
दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मोटरसाइकलमा पनि क्षति पुगेको छ । सांसद पन्त भने सकुशल रहेको र उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालकसँग सहमति भएपछि सांसद पन्तले आफ्नो गाडी जिम्मामा लिएर गएका छन् भने मोटरसाइकल जीतपुर प्रहरी चौकीको निगरानीमा राखिएको छ ।