भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हुण्डी कारोबार नियन्त्रणका लागि सक्रियता बढाउँदै बारा जिल्लाको कचोरवा नाका हुँदै ठूलो रकम लैजाँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार साँझ झडौखर चेकपोस्टमा नियमित जाँचका क्रममा भारतीय नागरिक नरेश कुमार गुप्ता र नेपाली नागरिक जैलाल साह तेलीको साथबाट ठूलो परिमाणमा नगद बरामद भएको एसएसबीले जनाएको छ । एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गुप्ताको साथबाट नेपाली रुपैयाँ ९ लाख ६३ हजार ६५० र भारतीय रुपैयाँ ७१ हजार ४१० बरामद गरिएको छ । त्यस्तै, तेलीको साथबाट नेपाली रुपैयाँ १ लाख १० हजार फेला परेको छ ।
घटनापछि एसएसबी ७१औँ बटालियन अठमोहन कम्पनी र जितना प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो । एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद नगदसहित दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।
पक्राउ पर्नेहरूमा बिहार पूर्वी चम्पारण सिकारगन्जका भारतीय नागरिक नरेश कुमार गुप्ता र बारा कलैया उपमहानगरपालिका गालोपटी बजनिका निवासी नेपाली नागरिक जैलाल साह तेली रहेका छन् ।