जीतपुरसिमरा उपमहानगरपालिका को ताकेतापछि सिमरा बजार क्षेत्रका सार्वजनिक जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू व्यवसायीहरूले आफैं खाली गरेका छन् ।
सिमराको मुख्य बजारदेखि नगर अस्पताल जाने बाटोमा रहेको रामजानकी मन्दिर परिसरको जग्गामा रहेका सटरहरू खाली गराउन उपमहानगरपालिकाले वैशाख १८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो ।
उक्त जग्गामा विगत ७ वर्षदेखि मन्दिर व्यवस्थापन समितिले भाडा उठाउँदै आएको थियो । उपमहानगरपालिकाले एक वर्षअघिदेखि नै सटर खाली गराउने प्रयास गरे पनि व्यवसायीहरूले अटेरी गर्दै आएका थिए । यसअघि सटर खाली गराउने कार्य अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको थियो । तर वैशाख ११ गते उच्च अदालत वीरगन्ज ले उक्त आदेश खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपमहानगरपालिकालाई कानुनी प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
अदालतको निर्णयपछि शुक्रबार बिहानदेखि व्यवसायीहरूले आफैं सटरबाट सामान हटाउन सुरु गरेका छन् । हाल उपमहानगरपालिकाले ती सटरहरूमा ताला लगाएको छ । आगामी जेठ ४ गते हुने अदालतको पेसीको निर्णयअनुसार थप प्रक्रिया अघि बढाइने उपमहानगरपालिकाले जनाएको छ ।