वीरगंज महानगर तथा आसपासका क्षेत्रका नागरिकहरूले सिर्सिया नदीको प्रदूषण र अतिक्रमण हटाउन नेपाल सरकारका प्रधानमन्त्री बालेन शाह लाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।
अभियन्ता ओमप्रकाश सरार्फले लेखेको उक्त पत्रमा वीरगंजको ‘लाइफलाइन’का रूपमा चिनिने सिर्सिया नदी अहिले अत्यन्तै प्रदूषित अवस्थामा पुगेको उल्लेख गरिएको छ । नदीमा मिसिने औद्योगिक ढल, रासायनिक फोहोर तथा अव्यवस्थित फोहोर व्यवस्थापनका कारण नदी संकटमा परेको जनाइएको छ । पत्रमा उल्लेख भएअनुसार सिर्सिया नदीको प्रदूषण भारतको रक्सौलसम्म पुगेर अन्तर्राष्ट्रिय प्रभाव पारिरहेको छ । यसले सीमा क्षेत्रको सम्बन्धमा समेत नकारात्मक असर पारेको र भारततर्फ पनि यस विषयमा चासो व्यक्त हुने गरेको उल्लेख छ ।
स्थानीय बासिन्दाले नदी प्रदूषणका कारण दुर्गन्ध, स्वास्थ्य समस्या, कृषि उत्पादनमा गिरावट, भूजल प्रदूषण लगायतका समस्या भोग्दै आएका छन् । नदी किनारका बस्तीहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।
अभियन्ताहरूले विगत एक दशकदेखि नागरिकस्तरमा आन्दोलन, संघर्ष र सत्याग्रह गर्दै आए पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको गुनासो गरेका छन् । कानुनी प्रक्रियाबाट पनि पहल गर्दा सुनुवाइ नभएको उल्लेख गरिएको छ । प्रधानमन्त्री समक्ष पेश गरिएको मागहरूमा उद्योगबाट नदीमा मिसाइने फोहोरमा कडा निगरानी, नदी सफाइका लागि राष्ट्रिय अभियान सञ्चालन, आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण, प्रदूषण गर्ने उद्योगमाथि कारबाही, तीन तहका सरकारबीच समन्वय, नदी किनार अतिक्रमण हटाउने तथा हरियाली प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन र नदीलाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्ने योजना समावेश छन् ।
पत्रमा सिर्सिया नदीको संरक्षण केवल वीरगंजको मात्र नभई राष्ट्रिय वातावरण, जनस्वास्थ्य र भावी पुस्तासँग जोडिएको विषय भएको उल्लेख गरिएको छ। सरार्फले यसअघि पनि सम्बन्धित निकायलाई पत्राचार गरे पनि सुनुवाइ नभएको उल्लेख गर्दै वर्तमान नेतृत्वबाट सकारात्मक पहल हुने विश्वास व्यक्त गरेका छन् ।
उनले माग सम्बोधन नभए नागरिकस्तरको आन्दोलन निरन्तर जारी रहने चेतावनीसमेत दिएका छन् ।