मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित "मध्य नेपाल सन्देश" पत्रिकाले यो वर्षको "मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार" वीरगंजकी पत्रकार निलिमा पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रिकाको सम्पादक कविता खड्काको अध्यक्षतामा बसेको छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो । पौडेलले १६ वर्षदेखि रेडियो वीरगंजमा पत्रकारिता गर्दै आएकी छन् । टिभी वीरगंज, हिमालय टेलिभिजन, ग्यालेक्सी टेलिभिजन लगायतमा काम गरेर अनुभव बटुलेकी सञ्चारकर्मी पाैडेल वीरगंजमा ख्याति कमाएकी सञ्चारकर्मी हुन् ।
मधेश प्रदेशबाट पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरु मध्ये एक जनालाई यो मिडिया प्रा.लि.ले हरेक वर्ष मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार वितरण गर्दै आएको छ । २०८१ को लागि वीरगन्जकी पत्रकार महिला पौडेललाई छनौट गरेको पत्रिकाको सम्पादक खड्काले बताइन् ।
११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी रहेको यो पुरस्कारबाट यसअघि महाेतरीकी कान्तिपुरकर्मी सुनिता बराल र बाराकी राताेपाटीकर्मी शारदा पोख्रेल सम्मानित भइसकेकी छन् ।
यो सम्मान भदौ १२ गते पत्रिकाको नवौँ वार्षिकोत्सवमा प्रदान गरिने मध्य नेपाल मिडियाले जनाएको छ ।