पर्साको वीरगंजबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० लाख ५१ हजार रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा तथा पशुचौपाया प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–२५ खाल्वाबाट २ लाख ३१ हजार ६०४ रुपैयाँ मूल्यका विभिन्न प्रकारका औषधि बरामद गरिएको हो । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ती औषधि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरेका ५ लाख ५९ हजार ८२० रुपैयाँ मूल्यका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको छ ।
सोही स्थानबाट २ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने एउटा भैँसी र १० हजार रुपैयाँ मूल्यको एउटा खसीसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार दुवै स्थानबाट बरामद गरिएका औषधि, लत्ताकपडा तथा पशुचौपायाको कुल मूल्य १० लाख ५१ हजार ४२४ रुपैयाँ रहेको छ ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।