जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
डाँका तथा ज्यानसम्बन्धी कसूरको अनुसन्धानमा प्राविधिक विश्लेषणमार्फत सफल अनुसन्धान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यादवलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले यादवलाई उत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।
कार्यालयका अनुसार संगठनको नीति तथा निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी र पदीय दायित्वलाई इमानदार, बफादार तथा कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै आएको मूल्याङ्कनका आधारमा यादवलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो ।
एसपी भट्टराईले यादवले आगामी दिनमा पनि आफ्नो पेशागत कर्तव्यप्रति निष्ठावान् रहँदै अपराध अनुसन्धानका क्षेत्रमा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।