वीरगंज महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि निर्माण गरेको फोहोरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) व्यवस्थित नहुँदा नगवाका स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
१७ बिघा क्षेत्रफलमा फैलिएको फोहोरमैला प्रशोधन केन्द्र ४७ करोड ६१ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । महानगरपालिका कार्यालयका अनुसार नगर क्षेत्रबाट दैनिक ६२ दशमलव २३ मेट्रिक टन फोहोर तथा फोहोरजन्य पदार्थ उत्पादन हुने गरेको छ । ती फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन तथा व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको छ ।
डम्पिङ साइटबाट निस्कने दुर्गन्धित हावाका कारण आसपासका बस्तीमा बसोबास गर्ने स्थानीयलाई घरभित्रै बस्नसमेत कठिनाइ हुन थालेको छ । फोहोरबाट फैलिने दुर्गन्धले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्ने भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
डम्पिङ साइटबाट निस्कने फोहोरका कारण खेतीपातीमा समेत असर परेको स्थानीयले बताएका छन् । खेतमा लगाइएको तरकारी बालीमा फोहोरबाट आकर्षित हुने काग तथा अन्य चराचुरुङ्गीले फोहोर ल्याएर छरिदिने गरेका छन्। यसले खेतबारीको सरसफाइ र तरकारी उत्पादनमा समेत समस्या सिर्जना गरेको उनीहरूको गुनासो छ ।
यता, वीरगंज महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष पशुराम चौरसियाले पनि डम्पिङ साइटबाट फैलिने दुर्गन्धका कारण वडावासी समस्यामा परेको स्वीकार गरेका छन् । उनका अनुसार स्थानीयको गुनासोपछि आफूले महानगरपालिका तथा फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीलाई समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदै आएको बताए ।


करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको प्रशोधन केन्द्रबाटै स्थानीय बासिन्दाले दुर्गन्ध र प्रदूषणको समस्या भोग्नुपरेको गुनासो गरेका छन् । महानगरपालिकाले फोहोरको उचित प्रशोधन, दुर्गन्ध नियन्त्रण तथा स्थानीयको स्वास्थ्य र वातावरणमा पर्न सक्ने असर न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।