चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित प्रहरीले वीरगंजबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–२५ सिर्सिया चेकपोस्टमा मंगलबार बिहान करिब १० बजे भारतको नम्बर प्लेट भएको बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त सामान बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार दुवै जनाको साथबाट चाँदीजस्तो देखिने धातुबाट निर्मित विभिन्न सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद सामानको कुल तौल ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम रहेको छ। प्रहरीले ४ थान चम्चा, १ थान सिक्री, १ थान प्लेट, गणेश–लक्ष्मीका २ थान मूर्ति, ५ थान माछा, ३ थान हरिण, ४ थान कछुवा र १ थान गोरुको आकृति बरामद गरेको हो ।
प्रहरीले बरामद सामानसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मंगलबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।