सशस्त्र प्रहरीले पर्साबाट पेस्तोल, गोली र छुरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले बोकेको झोलाभित्र कपडाले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा एक थान डोमी पेस्तोल, ६ राउन्ड डोमी गोली र तीन थान छुरा बरामद गरिएको छ ।
त्यसैगरी, उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल र विभिन्न प्रकारका औषधिसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद हतियार तथा अन्य सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।