पर्साको वीरगंजस्थित पूर्वाधार विकास कार्यालय पर्सा मा कर्मचारीसँग विवादपछि बोर्डमा मोबिल छर्की अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान करिब ९:१५ बजे वीरगंज महानगरपालिका–२३ स्थित कार्यालय परिसरमा पुगेका उनीहरूले कार्यालयका कर्मचारीसँग पूर्वाधार योजनासम्बन्धी विषयलाई लिएर विवाद गरेका थिए । विवाद चर्किँदै जाँदा उनीहरूले कार्यालयको सूचना बोर्डमा मोबिल छर्केर कार्यालयको वातावरण अस्तव्यस्त बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाईका ३० वर्षीय मनमोहन पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरू कार्यालयका कर्मचारी रामप्रवेश यादवसँग योजनाको विषयलाई लिएर बहसमा उत्रिएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार योजनासम्बन्धी असन्तुष्टि र मागलाई लिएर विवाद उत्पन्न भएको देखिएको छ ।
घटनापछि दुवै व्यक्ति कार्यालय परिसरबाट भागेका थिए । कार्यालय प्रमुखले तत्कालै वडा प्रहरी कार्यालय श्रीपुरमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भई खोजी अभियान थालेको थियो । सोही क्रममा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका दुवै जनामाथि सार्वजनिक सम्पत्ति तोडफोड, सरकारी कर्मचारीमाथि अभद्र व्यवहार तथा कार्यालय सञ्चालनमा बाधा पुर्याएको आरोपमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले सरकारी कार्यालयजस्तो संवेदनशील स्थानमा गरिएको यस्तो गतिविधि गम्भीर प्रकृतिको हुने भन्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।
स्थानीय सरोकारवालाहरूले भने सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमै भएको यस्तो घटनाले प्रशासनिक कामकाज प्रभावित हुने र सेवाग्राहीमा समेत नकारात्मक असर पर्ने बताएका छन् ।