धनुषा जिल्लाको मिथिला नगरपालिका–७ केमलीपुरमा चितुवाको आक्रमणबाट एक जना स्थानीय व्यक्ति घाइते भएका छन् ।
बुधबार बिहान करिब ९ बजे ४८ वर्षीय किर्तिमान विक चितुवाको आक्रमणमा परी घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर का प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घाइते विकको उपचार ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा भइरहेको छ । उनको अवस्था सामान्य रहेको र शरीरको पिठ्युँलगायत विभिन्न भागमा कोतरिएको बताइएको छ ।
वडाध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार निलगाई रोकथामका लागि लगाइएको तारजालीमा चितुवा फसेको अवस्थामा थियो । सोही जानकारी पाएर घटनास्थल पुगेका विकमाथि चितुवाले आक्रमण गरेको हो ।
हाल चितुवा अझै पनि सोही तारजालीमा फसेको अवस्थामा रहेको जनाइएको छ । चितुवाको सुरक्षित उद्धारका लागि वन कार्यालय तथा सुरक्षाकर्मीलाई खबर गरिएको वडाध्यक्ष स्याङ्दनले जानकारी दिएका छन् ।
स्थानीयवासीले वन्यजन्तु बस्तीमा प्रवेश गर्ने समस्या बढ्दै गएको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन् ।