विश्वचर्चित प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको बिचुटेन डेटा भोल्ट अन्तर्गतको टियर फोर हाइपरस्केलले नेपालमा अत्याधुनिक ‘टियर ४’ हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ ।
कम्पनीले पहिलो चरणमा वीरगञ्ज र काठमाडौंमा डेटा सेन्टर स्थापना गर्ने तथा आगामी वर्षहरूमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याबलेटजस्ता डिजिटल डिभाइस उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।कम्पनीका अनुसार नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने उद्देश्यसहित परियोजना अघि बढाइएको हो । डेटा सुरक्षा, डिजिटल पूर्वाधार विस्तार तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित सेवाको विकासलाई केन्द्रमा राखेर परियोजना सञ्चालन गरिने जनाइएको छ ।
यस परियोजनाका लागि विश्वचर्चित प्रविधि कम्पनीहरू VVDN Technologies, Google Cloud, AMD र Micron Technology सँग रणनीतिक साझेदारी गरिएको कम्पनीले जनाएको छ ।
बिचुटेन डेटा भोल्ट कम्पनीमा स्वदेशी उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया तथा शरद गोयलको नेतृत्व रहेको बताइएको छ । कम्पनीले नेपालभित्रै सुरक्षित डेटा भण्डारणको व्यवस्था गर्दै विदेशी सर्भरमाथिको निर्भरता कम गर्ने लक्ष्य लिएको जनाएको छ ।
कम्पनीका अनुसार निर्माण हुने डेटा सेन्टर अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘सर्टिफाइड टियर ४’ मापदण्डअनुसार हुनेछ । यस्तो डेटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने दाबी गरिएको छ । अर्थात् वर्षभरिमा करिब २६ मिनेटभन्दा कम समय मात्र प्राविधिक अवरोध हुन सक्ने कम्पनीको भनाइ छ । यो स्तरको पूर्वाधार बैंकिङ, दूरसञ्चार, सरकारी सेवा, क्लाउड कम्प्युटिङ तथा साइबर सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
परियोजना काठमाडौं र वीरगञ्ज गरी दुई स्थानमा सञ्चालन गरिनेछ । प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने डेटा सेन्टरलाई सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना कम्पनीले बनाएको छ ।
विशेषगरी वीरगञ्जमा डेटा सेन्टर स्थापना हुँदा औद्योगिक तथा व्यापारिक गतिविधिलाई डिजिटल रूपमा मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतसँगको व्यापारिक पहुँच, ड्राइपोर्ट, औद्योगिक करिडोर तथा विद्युत उपलब्धताका कारण वीरगञ्जलाई रणनीतिक स्थानका रूपमा हेरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याबलेट उत्पादन गर्ने योजना सार्वजनिक गरेसँगै सूचना प्रविधि क्षेत्रमा नयाँ औद्योगिक सम्भावनाको चर्चा सुरु भएको छ । यसबाट रोजगारी सिर्जना, प्राविधिक जनशक्ति विकास तथा डिजिटल अर्थतन्त्र विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार डेटा सेन्टर पूर्ण रूपमा नेपालको जलविद्युत ऊर्जामा आधारित हुनेछ । यसले वातावरणमैत्री तथा ऊर्जा–दक्ष डिजिटल पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवा, क्लाउड कम्प्युटिङ, अनलाइन बैंकिङ, ई–गभर्नेन्स तथा एआई प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस्तो उच्चस्तरीय डेटा सेन्टर निर्माणलाई सूचना प्रविधि क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।