वीरगंजस्थित रक्त सञ्चार केन्द्रमा विभिन्न समूहका रगतको अभाव देखिएको छ । केन्द्रका प्रमुख सरोजराज पाण्डेका अनुसार हाल केन्द्रमा ओ पोजिटिभ (O+) बाहेक अन्य रक्त समूहको पर्याप्त मौज्दात छैन ।
उनका अनुसार वीरगंजका विभिन्न अस्पतालमा उपचाररत बिरामीको संख्या बढेसँगै रगतको माग उच्च भएको छ । दुर्घटना, शल्यक्रिया, प्रसूति तथा दीर्घरोगी बिरामीका लागि दैनिक ठूलो मात्रामा रगत आवश्यक परिरहेको भए पनि पछिल्लो समय रक्तदान कार्यक्रमहरू कम हुँदा आपूर्ति प्रभावित भएको उनले बताए ।
गर्मी मौसमका कारण विभिन्न संघसंस्था तथा क्लबहरूले नियमित रूपमा आयोजना गर्दै आएका रक्तदान कार्यक्रम घटेपछि रगत संकलनमा थप समस्या देखिएको केन्द्रको भनाइ छ । “अस्पतालहरूबाट दैनिक रगतको माग आइरहेको छ, तर आवश्यक मात्रामा रगत उपलब्ध गराउन कठिन भइरहेको छ,” प्रमुख पाण्डेले बताए ।
रक्त सञ्चार केन्द्रले सामाजिक संघसंस्था, युवा क्लब, शैक्षिक संस्था तथा सर्वसाधारणलाई रक्तदान कार्यक्रम आयोजना गर्न तथा स्वेच्छिक रूपमा रक्तदान गर्न आग्रह गरेको छ । केन्द्रले स्वस्थ व्यक्तिलाई रक्तदान गर्न अपिल गर्दै एक युनिट रगतले कुनै बिरामीको जीवन बचाउन सक्ने उल्लेख गरेको छ ।
रगत अभावका कारण आकस्मिक उपचार तथा शल्यक्रियामा समेत समस्या हुन सक्ने भन्दै केन्द्रले समयमै रक्तदान गरी मानवीय सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।